काठमाडौंमा प्रधानमन्त्री मोदीका भाइको चारदिने गोप्य मन्त्रणा

0
11K

काठमाडौं । पशुपतिको यात्रा, सिद्राको व्यापार भनेझैं भयो विश्व हिन्दु महासंघ भारत च्याप्टरका अध्यक्ष प्रह्लाद मोदीलाई । चार दिने काठमाडौं भ्रमणमा आएर उच्च तहको राजनीतिक भेटघाट गरेका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साख्खे भाइ हुन् ।

दामोदरदास मोदी र हीरा बेनले जन्माएका पाँच छोरा र एक छोरीमध्ये नरेन्द्र मोदी साइँला हुन्, यिनी काइँला । ७१ वर्षे यिनको यात्रा पशुपतिनाथको पूजा अर्चनामा सीमित भएन, बरु चार दिनसम्म काठमाडौंमा शक्तिशाली कोठा चोटाहरुमा गोप्य मन्त्रणा गरिबसे । यी भेटघाटमा हिन्दु महासंघका महासचिव आशु मोंगिया समेत सहभागी थिए ।

चार दिने काठमाडौं बसाइमा प्रह्लाद मोदीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष रवि लामिछाने, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतलाई भेटे । उनीसँग भेट्नेमा कांग्रेस नेता शेखर कोइरालादेखि सांसद प्रदीप पौडेल, एकीकृत समाजवादी नेता प्रेम आलेसम्म छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट्न अनुकुल समय नभएको भन्दै पन्छाए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा नारायणकाजी श्रेष्ठसँग मोदीले मन्त्री क्वार्टरमा गएर भलाकुसारी गरे ।

‘म यहाँ राजनीतिक कुराकानी गर्न आएको होइन’, मंगलबार अपराह्न नयाँ दिल्ली फर्किनुअघि ललितपुरमा अनलाइनखबरसँगको कुराकानीमा मोदीले भने, ‘यहाँका बहुसंख्यक हिन्दुहरुको हित तथा हिन्दुस्तान–नेपालबीच नागरिक स्तरको सम्बन्धबारे सरोकार राख्न आएको हुँ ।’

राजनीतिक कुरा गर्न नआएको भन्ने मोदीले किन नेता–नेता भेट्दै हिँडे त ? अझ रास्वपा अध्यक्ष लामिछाने, राप्रपा अध्यक्ष लिङ्देन लगायत नेताहरु त उनी बसेकै होटल हिमालयमा पुगेर भेटेका थिए । भेट्न आउनेमध्येका एक उच्च तहका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटको समय मिलाइदिए तुरुन्तै दिल्ली आउने समेत बताए ।

प्रह्लादले अनलाइनखबरलाई बताए अनुसार उनले मुख्य गरी तीन सरोकार राखे ।

एक– पशुपतिनाथ मन्दिरको धर्मशालामा भारतीय तीर्थालुको पहुँच । प्रधानमन्त्री मोदीले ९ वर्षअघि काठमाडौं भ्रमण क्रममा २५ करोड रुपैयाँ लागतमा धर्मशाला बनाएर हस्तान्तरण गर्ने बचन पालना भए पनि भारतीय तीर्थालु त्यहाँको सुविधा लिनबाट बञ्चित भएकोमा प्रह्लादको चासो थियो । ‘धर्मशाला बनाएर व्यापार गर्न पाइँदैन’, उनले आपत्ति जनाउँदै भने । विगतमा केपी ओली प्रधानमन्त्री छँदा सरकारले उक्त धर्मशाला बतास समूहलाई व्यवस्थापन गर्न दिने निर्णय विवादित भएको थियो ।

पशुपतिनाथको मूलगेटबाहिर प्रह्लाद मोदीसहित भारतीय टोली ।
दुई– हिन्दु राष्ट्र । हिन्दू महासंघ भारतका अध्यक्ष प्रह्लाद मोदीको दाबी अनुसार अब छिट्टै हिन्दुस्तानमा धर्मनिरपेक्षता हट्ने छ । नेपालमा पनि हट्नुपर्‍यो भन्ने उनको चासो छ । नेपालको संविधानले हिन्दूराष्ट्र हटाएर धर्मनिरपेक्षता कायम गरेको प्रसंग कोट्याउँदा उनले तुरुन्तै काटे, ‘उसो भए त्यसलाई पनि हटाउनुपर्‍यो । आखिर नेतृत्वले सहमति गरे भने त पहिलाजस्तै धर्मनिरपेक्षता पनि हटाउन सकिहालिन्छ नि ।’ भारतसँगै यो सिंगो हिमालय क्षेत्र नै हिन्दू भएकाले पहिचान कायम गर्नुपर्ने उनको जिकिर छ ।

तीन– गौहत्या र गाईको ओसारपसार रोक । हिन्दु महासंघका अध्यक्ष मोदीले इस्लामको चाड बकर इदका आसपास भारत–नेपाल सिमानाको पश्चिम क्षेत्रबाट हजारौं गाई नेपाल छिराउँदै झापा हुँदै बंगलादेश पठाउने गरिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । श्रेष्ठबाट गौहत्या लगायत क्रियाकलाप नेपालको कानुनमा वर्जित रहेको भन्दै सरकारले त्यसको कडाईपूर्वक अनुगमन गर्ने आश्वासन पाएको मोदीले जवाफ दिए ।

धर्मशालाको व्यवस्थापनबारे मोदीले कुनै स्पष्ट जवाफ पाएनन् । धर्मनिरपेक्षता हटाउने प्रस्तावमा रास्वपा सभापति रवि लामिछाने सकारात्मक देखिएको भ्रमण टोलीले जानकारी दियो । रास्वपा पक्षले भने यसको पुष्टि भने गरेन । एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई उद्धृत गर्दै मोदीसँग निकट नेताले भने, ‘नेपाल भारतबीच यति राम्रो सम्बन्ध छ । अब हिन्दुराष्ट्र नबनाए पनि हाम्रो सम्बन्ध राम्रै रहन्छ नि ।’

नेपालपछि एमाले अध्यक्ष ओलीलाई भेट्न गएका मोदीले बालकोट निवासमा न्यानो आतिथ्य पाए । प्रह्लाद पनि ओलीझैं मृगौलाका बिरामी हुन् । उनीहरुले केहीबेर स्वासथ्यका कुरा गरे । त्यसपछि ओलीले भने, ‘तपाईंका दाजुसँग मेरो व्यक्तिगत सम्बन्ध राम्रो छ । चिठी लेखालेख भइरहन्छ ।’

भ्रमण टोलीका सदस्यले बताए अनुसार ओली आफूले सोचेजस्तो अप्ठेरो नेता नरहेको अनुभव मोदीले सुनाएका थिए । ओली र मोदीबीच एक घन्टा छुट्टै कुराकानी भएको थियो । त्यस क्रममा के कुरा भयो भन्ने खुल्न सकेको छैन । ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार मोदीसँग ओलीको हार्दिक छलफल भयो । ‘पशुपतिनाथ दर्शन गर्न आउनुभएको रहेछ, त्यसै क्रममा केही कुराकानी भएको हो’, उनले भने ।

भ्रमण टोलीका अनुसार मोदी धुम्बाराही निवासमा देउवालाई भेट्न जाँदा माहोल पूरै तनावयुक्त थियो । देउवाले धेरै समय ‘हो, हो’ भन्ने र टाउको हल्लाउने बाहेक अरु प्रतिक्रिया गरेनन् । हिन्दुराज्य फर्काउने कुरा गर्दा यत्ति बोले, ‘हामी हिन्दू छँदै छौं नि । हिन्दू नै हौं नि ।’ यसबाहेक संविधानमा के हटाउने, कस्तो राज्य बनाउने भन्ने कुरोमा आफ्नो थप राय दिएनन् ।

‘मैले ओलीजी र नेताहरुलाई भनेको छु कि, नरेन्द्र (मोदी) दाइले भारतका जनताको सुविधाका लागि २५ करोड रुपैयाँ दिनुभएको छ । त्यसको सदुपयोग हुनुपर्‍यो’, मोदीले भने ।

राप्रपा अध्यक्ष लिङ्देनले साना ठूला सबै पार्टी मिलेर हिन्दू राष्ट्र बनाउन काम गर्ने आश्वासन मोदीलाई दिए । कांग्रेस नेता प्रदीप पौडेलले पनि संसदमा गौहत्या र गाईको अवैध ओसारपसार बारे कुरा उठाउने वचन दिए ।

तीन वर्षयता विश्व हिन्दू महासंघ अध्यक्ष रहेका मोदी आफू नेतृत्वमा आएयता काठमाडौंको पहिलो भ्रमणमा आएका हुन् । विश्व हिन्दू महासंघ नेपाल च्याप्टर चरम विवादमा फसिरहेको छ । अदालतमा मुद्दा हालाहालको अवस्थाले उनी चिन्तित रहेको स्रोतले बतायो । अहिले भारतमा भाजपाको बढ्दो जनसमर्थन सँगै आफ्ना राजनीतिक एजेन्डाहरु सक्दो छिटो कार्यान्वयन गर्नुपर्छ भन्ने बुझाइ विकास हुँदै गएको छ । त्यस क्रममा हिन्दुराष्ट्रका लागि हतारो देखाउन थालेका छन् भाजपाका नेताहरुले ।

यद्यपि प्रह्लाद मोदी कुनै राजनीतिक जिम्मेवारीमा छैनन् । कुटनीतिक सूत्रहरुका अनुसार मोदीले धार्मिक, व्यावसायिक निर्णयहरु लिँदा भाइ प्रह्लादका राय सुन्ने गर्छन् । कतिपय अनौपचारिक संवादहरुमा प्रह्लाद दाजु मोदीका तर्फबाट खटिन्छन् । काठमाडौं भ्रमणको प्रगतिबारे उनले दिल्ली फर्केर मोदीसँग संवाद गर्ने भ्रमण स्रोतले जानकारी दियो ।

यो समग्र भ्रमणको व्यवस्थापनमा काठमाडौंस्थित भारतीय दुतावास कतै दृश्यमा देखिएन, न त प्रह्लाद भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई औपचारिक सूचना छ । ‘म त हिन्दुस्तानको सामान्य नागरिक, नेपाल घुम्न आएको’, मोदीले आफूलाई लो–प्रोफाइलमा देखाउन खोज्दै भने । उनले चार दिने बसाइका क्रममा गरेका गोप्य मन्त्रणाहरुले भने भारतीय संस्थापनका अनेक प्राथमिकता सम्झाउँछन् ।

Patrocinados
Buscar
Patrocinados
Categorías
Read More
Other
UK Work Visa & Requirements
Skilled Worker VisaThe Skilled Worker visa allows qualifying individuals to come to the UK to...
By Yubaraj Sedai 2022-05-19 08:52:32 0 10K
Sanatan Dharma
SUPER NATURAL POWERS OF MAHABALI HANUMAN
  Anything science can't explain is almost SUPERNATURAL   The 32nd verse...
By Santosh Sedai 2023-05-23 11:17:13 0 14K
Food & Drinks
Consumer perception on ready meals
Ready Meals Survey Personal Details 1. Age Group: Select an option Under 18 18–24...
By dununu desk 2024-12-29 07:28:38 0 5K
Sanatan Dharma
Some of the greatest scientist, sages, mathematicians, writers the world tried to ignore:
There have been many great scientists, mathematicians, sages, and writers in ancient India who...
By Yubaraj Sedai 2023-03-13 11:21:28 0 14K
Education & Training
31st August 2024
11+ Mock Exam  Time Allowed: 2 hours 15 minutesInstructions: Read all instructions...
By 11+ Mock Test Exam 2024-08-31 09:44:39 0 6K